विदेश पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् ।

उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए । उनले प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने बताएर रकम ठगी गरेर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।

अमेरिकामा ‘द सेक्रेट अफ राधा’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘द सेक्रेट अफ राधा’ क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को बे एरियामा आगामी जुन ३ र ४ (शनिबार र आइतबार) फ्रिमण्टको सिने लाउन्जमा प्रदर्शन हुने भएको छ भने कंकर्डस्थित थिएटरमा जुन ७ मा बेलुकी प्रर्दशन हुने व्यवस्था मिलाइएको छ।

सामाजिक मुद्दामा बनेको नारीप्रधान चलचित्र ‘राधा’ले नारी पात्रको प्रतिनिधित्व मात्र नगरी नेपाली समाजको चित्रण गरेको चलचित्रका निर्देशक सुवर्ण थापा बताउँछन्। ‘वास्तवमा यो चलचित्र नेपाली समाजमा दिनहुँ भएका र घटेका घटनाहरुको दर्पण हो,’ निर्देशक थापाले भने।

आफ्नो चलचित्रले आफ्नो पनि भोगाईको विषयलाई उजागर गरेको उल्लेख गर्दै निर्देशक थापा भन्छन्, ‘यस चलचित्रको निमार्ण र प्रदर्शनपछि नेपाल र अन्य देशका दर्शकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छु।’

अमेरिका र यूरोपमा बसोवास गर्ने नेपालीहरु र खासगरि दोस्रो पुस्ताका नेपालीहरुलाई नेपाली महिलाहरुको संघर्ष र उनीहरुको भोगाइबारे चलचित्रले थप प्रष्ट पार्न सहयोग गर्ने बताउँदै भन्छन्,’यो मनोरन्जन मात्र नभइ समग्र नेपाली नारीहरुको एकमुष्ट कथा हो।’

कलाकारहरु श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायतको आभिनय रहेको छ।

चलचित्र सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो र अहिले निर्देशक थापा अन्तर्राष्ट्रिय डायस्पोरामा राधा चलचित्र प्रदर्शन गर्ने क्रममा आफै प्रदर्शनमा जुटेका हुन्।

टिकट ल्भउबष्तिजष्लनक अनलाइनमा किन्न पाइने र शो समयमा हलमा पनि किन्न सकिने व्यवस्था मिलाइएको निर्देशक थापाले बताए। कोरियाको बुसान फिल्म फेस्टिबलबाट पटकथा लेखनमा ग्राण्ट पाएको यो चलचित्र नेफ्टाको १० वटा विधामा मनोनित भएको थियो भने निफमा जुरी अवार्ड जितेको थियो।

हाल फ्रान्समा बसोवास गर्दै आएका निर्देशक थापा अन्तर्राष्ट्रिय वृत्तचित्र र चलचित्र निमार्णमा अब्बल मानिन्छन्। चलचित्रलाई अमेरिका र अस्ट्रेलियाका मुख्य शहरहरुमा प्रदर्शन गरिने बताइएको छ।

विषादी प्रयोग गरिएका आँप बजारमा छ्यापछ्याप्ती,स्वास्थ्यमा असर पर्ने जोखिम

टङ्कीसिनवारी । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन्।

सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महँङ्गोमा बिक्री गरिरहेका छन्। नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ। यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ।

विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्यमा असर पर्ने जोखिम छ। भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन्। काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो। आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन्।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी बिक्री वितरण गर्न नपाइने बताउँछिन्। बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उनको भनाइ छ। ‘यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप बिक्री गर्नेगरेको जानकारीमा आएको छ,’ कार्कीले भनिन्। उनले काँचो आँपमा विषादी हालेर बिक्री वितरण नगर्न सबैमा आग्रह गरिन्।

सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको बताए। यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपुर्‍याउने उनी बताउँछन्।

विराटनगर–२ स्थित मुस्कान फलफूल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोगल गर्ने गरेको बताउँछन्। यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उनको भनाइ छ।

कोशी अस्पतालका इमर्जेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुनेजस्ता समस्या देखिने बताए। विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका बताए।(रासस)

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले लागि निर्धारण गरेको दर अनुसार आज जेठ १७ गते अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणः एक सयभन्दा बढी सहभागी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि बुधबार भारत प्रस्थान गर्दैछन् ।प्रधानमन्त्री नियुक्त भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी हुने बताइएको छ। टोलीमा भौतिक पूर्वाधारमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल लगायत रहनेछन्। दाहालसहित सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी रहनेछन्।
टोलीमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका साथै डेढ दर्जन सचिव सहभागी हुनेछन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन्।

यसैगरी, प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनेछन्।

यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ। सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जाने बताइएको छ ।

तुलसीको बीउ रोपेर निर्जला एकादशी मनाइँदै

काठमाडौँ ।घरको मठमा तुलसीको बीउ रोपेर आज सनातन धर्मावलम्बीले निर्जला एकादशी पर्व मनाउँदै छन् ।यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । वैदिक परम्परा अनुसार हरेका वर्ष ज्येष्ठ शुक्ल एकादशीका निर्जला एकादशी मनाइन्छ ।यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय मान्यता रहेको छ ।सक्नेले पानी नखाई व्रत गरेपनि नसक्नेका लागि फलफूल खाएर बस्ने प्रचलन छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म अर्थात चतुर्मासमा तुलसीको विशेष पूजा गरिन्छ ।आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।
चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : आठ अभियुक्तको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म काठमाडौं जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आठ अभियुक्तको बयान सकिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

मङ्गलवार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइएको हो ।

यसअघि, आइतबार सन्दीप रायमाझी, टङ्क गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो । त्यस्तै, गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो ।

यो हप्तामा बाँकी रहेका नौ अभियुक्तसमेतको बयान सकिनेछ । पक्राउ परेका सबैको बयान सकिएसँगै थुनछेक बहस सुरु हुनेछ ।

अब पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सानु भण्डारी, पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ सङ्गठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

महोत्तरी घटनाको अनुसन्धान सम्बन्धित निकायबाट जारी : एनएमबी बैंक

काठमाडौँ । महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंक लिमिटेडको शाखा कार्यालयमा मंगलबार करिव १२ः२५ को समयमा ३–४ जनाको समूहमा रहेका अपरिचित बन्दुकधारी ब्यक्तिहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको र उक्त घटनामा संलग्न ब्यक्तिलाई आवश्यक कानूनी कारबाही गर्नको लागि बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भइसकेको बैंकले जनाएको छ । सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी पछि गरार्ईने बैंकले जानकारी दिएको छ । (माधव अधिकारी)

चुरे दोहन गर्ने किसिमको बजेटको सासंद प्रेम सुवालद्वारा विरोध

१५ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रेम सुवालले नेपाल सरकारले सार्वजनिक गरेको आ.व. २०८०/८१ को बजेट बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि प्रतिक्रिया दिँदै भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभूति गरिएको छैन। सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ।’

उनले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए। उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए । उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए ।‘सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन। शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन।’

सेयर बजार उच्च अंकले घट्यो 

काठमाडौं । सरकारकाे बजेटपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से उच्च अंक घट्न पुगेको हो । बजेट आएको भोलीपल्ट अर्थात आज मंगलबारको शेयर बजार उच्च अंकले घटेको छ ।  

शेयर बजार घटेकोबारे अर्थमन्त्री डा. प्रकाशशरण महत भने लगानीकर्ताहरुले नबुझेका कारण यस्तो भएको बताउँछन् । उनले मंगलबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘आगामी आर्थिक वर्षको लागि आएको बजेटको भोलिपल्ट नै शेयर बजार घट्नु भनेको शायद नबुझेर प्यानिक बनेको होला ।  

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ५३.१६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको हो ।     

कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१८.६० रुपैयाँ पुगेको छ भन् विपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७२.४० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार स्वयत्तगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र सिटिजन म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

वरिष्ठ निरीक्षक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो।

झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

उक्त अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, बिमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण र सापटीको साँवाब्याज भुक्तानी, पारिवारिक घरखर्च, विभिन्न शीर्षकमा राजस्व र कर तिरेको र बैंक मौज्दातसमेत गरी कुल सात करोड २४ लाख ५६ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ।

सोही अवधिमा उनको पारिश्रमिक र तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकाशबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत गरी जम्मा दुई करोड ७७ लाख २२ हजार आय आर्जन देखिएको थियो।

प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको छ ।

सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ । ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको छ । सो रकम गत वर्षको भन्दा २३ अर्ब बढी हो । चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ ।

६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको हो। छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।

एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा अज्ञात समूहबाट दिनदहाडै लुटपाट गरिएको छ।  महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए। चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए । ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन् ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।

लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ट्राफीक इन्सपेक्टर सहीत ४१ जना द्धारा रक्तदान 

रौतहट १६ जेठ। रक्तदान जीवनदान मुल नाराका साथ गणतन्त्र दिवशको अवसरमा नेपाल रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

 सोमवार एक कार्यक्रमको आयोजना गरी चन्द्रनिगाहपुरमा सुरुभएको रक्तदान कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्सपेक्टर बिमला कुमारी कठायत सहित ४१ जनाले रक्तदान गरेको रक्त सञ्चारसेवा संयोजक संजय कुमार यादवले बताएका छन।

उपशाखा सभापति कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा 

प्रमुख अतिथिको रूपमा चन्द्रपुर नगर प्रमुख,संजय काफ्ले शाखाका मन्त्री धर्मेन्द्र सिह ,स संयोक घन श्याम सुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

रेशम चौधरीको रिहाई सर्वथा गलत : कानूनविद्

काठमाडौँ । २०७२, भदौ ७ मा कैलालीको टीकापुरमा हिंसा भड्किँदा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि रेशम चौधरी जेल जीवन बिताइरहेका थिए । चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरी सहित १९ जनालाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका छन् ।यसबाट कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी आक्रमणबाट मृत्यु भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र एक नाबालकका परिवारको मर्माहत भएको छ ।
कानूनको शासनलाई लत्याउँदै दिइएको माफीका कारण घटनामा ज्यान गुमाउने प्रहरीका आफन्तमा गहन पीडा, अशान्ति र असन्तुष्टि बल्झिएको छ । यस विषयमा सम्पत्तिन्युजले केही वरिष्ठ कानूनविद्सँग गरेको कुराकानी:

एउटा व्यक्तिलाई आममाफी हुँदैन
डा.युवराज संग्रौँला
पूर्व महान्यायधिवक्ता

कुनै एउटा व्यक्तिलाई आममाफी हुँदैन, आममाफी समूहलाई दिइन्छ । यदि रिहाई दिनुथियो भने सर्वोच्चमा मुद्दा दायर गरी वा मुद्दा अघि नै दिनुपर्ने थियो । राष्ट्रपतिबाट माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन विपरीत हो ।

विधिको शासन विपरीत
भीमार्जुन आचार्य
संविधानविद्

संविधान र सर्वोच्चले गरेको फैसला विपरीत रेशम चौधरीको रिहाई भएको छ । विधिको शासन विपरीत राजनीतिक दलका निर्णयको आधारमा रिहाई दिनु गलत हो । अदालतबाट भएको सजायलाई माफी दिने कार्यबाट दण्डहीनताले प्रश्रय पाउने निश्चित छ ।